स्थानीय खबर
छोरीको जन्मदिनमा रामलीला समितिलाई ११ हजार १११ रुपैयाँ सहयोग
कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर -९ लालपुरका प्रकाश कलौनीले छोरी आराध्या कलौनीको दोस्रो जन्मदिनको अवसरमा सुन्दरपुरस्थित श्री सुन्दरपुर रामलीला समितिलाई ११ हजार १११ रुपैयाँ सहयोग गर्नुभएको छ । उक्त रकम कलौनीका सहोदर भाइ वीरेन्द्र कलौनी र सागर कलौनीले क्यूआर मार्फत समितिलाई पठाउनुभएको हो ।
जन्मदिनको अवसरमा सामाजिक तथा धार्मिक क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले सहयोग गरिएको जनाइएको छ। कलौनी परिवारले विगतदेखि नै जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै आएको छ । परिवारले छोरा योगेश कलौनीको जन्मदिन अनाथालयमा र छोरी आरवीको जन्मदिन बैजनाथ धाम वृद्धाश्रममा मनाउँदै आएको छ ।
जन्मदिनमा हुने खर्चलाई सामाजिक सेवामा लगाउने उद्देश्यसहित परिवारले हरेक वर्ष रचनात्मक कार्य गर्दै आएको छ । छोरी आराध्याको दोस्रो जन्मदिनमा प्राप्त सहयोगले समितिका गतिविधि सञ्चालनमा सहयोग पुग्ने श्री सुन्दरपुर रामलीला समितिका कोषाध्यक्ष दलबहादुर कुँवरले बताउनुभयो । उहाँले सहयोगका लागि कलौनी परिवारलाई धन्यवादसमेत व्यक्त गर्नुभएको छ ।